Friday, July 31, 2009

ठूलो ढुङ्गो


बाटाका किनारमा एउटा ठूलो ढुङ्गो थियो । आवश्यक पर्दा बाटामा हिँड्ने बटुवाहरूले त्यसैको ओत लागेर दिसा–पिसाब गर्थे । जसले गर्दा वरिपरिको वातावरण औधि दुर्गन्धित भएको थियो । एकजना सिकारु कलाकारको आँखा प¥यो । जिज्ञासु थियो, ढुङ्गा खोपेर अमूर्त चित्र बनायो । बाटामा हिँड्ने एकजना बटुवाले अनौठो आकारमा कुँदिएको उक्त ढुङ्गोलाई देखेर दङ्ग प¥यो, देवताको मूर्ति ठान्यो र अबिर र फूल चढायो । अर्को एकजनाले त्यहाँ वरिपरि ध्वजापताका चढायो । उनीहरूसँगै अरू दुई÷चारजना मिसिए र वरिपरि सफा गरे । यो क्रम बढ्दै गयो । हिजो आज ठूलो ढुङ्गो खाटी देवता बनेको छ र त्यहाँ फूल प्रसाद चढाउने र पूजा गर्नेको धुइरो लाग्नेगरेको छ । *** २०६३/०१/०१, काठमाडौं ।

अन्तिम प्रश्न

साहिँला साहू जीवनको अन्तिम सास गन्दै थिए । आज हो कि भोलि कुनै ठेगान थिएन । त्यसैले घरका सबै परिवार र आफन्तहरू आफ्ना सबै काम छाडेर मलिन अनुहार बनाउँदै बिरामीका वरिपरि बसेका थिए । पालैपालो बिरामीलाई सुनपानी खुवाउने काम पनि जारी नै थियो । यसै बीच बिरामीले पिलिक्क आँखा खोले र आँखा घुमाउँदै वरिपरि हेरे । उनको त्यो हेराइ देखेपछि नजिकै बसेको माहिलो छोराले जिज्ञासा राख्यो .........। ”बुढी खोई ?” बिरामीले सासै सासमा भने । “म यहाँ छु ।” आँखाबाट बग्दै गरेका आँसु पुछ्दै बुढीले भनिन् । केही बेरपछि माहिला छोरातिर हेर्दै बुढाले फेरि सोधे– “ठूलो खोई त ?” “बाबा म यहीँ छु ।” नजिकै बसेको जेठा छोराले पनि बाबाका अगाडि आफ्नो उपस्थिति जनायो । “कान्छो नि ?” केही बेरपछि बुढाले सोधे । “म पनि यहीँ छु बाबा ।” आँखा रसिला पार्दै कान्छाले भन्यो । “छोरी र बुहारीहरू पनि आएका छन् ?” “सबै यहीँ छौँ बाबा ।” पछ्यौरीले आँसु पुछ्दै छोरीबुहारीहरूले भने । “हामी छोरा, छोरी, बुहारी, नाति नातिनीहरू सबै यहीँ छौँ बाबा, हजुरले कुनै पिर गर्नुपर्दैन । बरु राम ! राम ! भन्नोस् बाबा, राम ! राम !” माहिला छोराले आश्वस्त पार्दै भन्यो । “ए, तिमीहरू सबैजना यहाँ भएपछि दुकान कसले खोलेको छ त ?” यो बुढाको अन्तिम प्रश्न थियो । *** २०६२/१०/११, काठमाडौं ।

अविरल यात्रा


“कठिन यात्रा !” धेरैले यसै भन्थे । एउटा अनिवार्य यात्रा, शिखरमा पुग्नका लागि हिँडिरहेका थिए यात्रीहरू । थाक्ने पछि पर्थे र हिँड्नेहरू हिँडिरहन्थे, निरन्तर । कहिले भीरको बाटो, कहिले जङ्गलको बास । यात्रा कहाँ हुन्छ र सुगम ! चितुवा र ब्वाँसाको झम्टाइ, तीखा ढुङ्गा र काँडाको घोचाइ । भोकप्यासका कुरा त सामान्य हुन्छन् यात्रामा । बाटो सजिलो थिएन, आस्था बलियो थियो । आस्था र विश्वासका भ¥याङ चढ्दै, आशा र भरोसाका जङ्घार तर्दै अघि बढ्दै थिए यात्रीहरू । एउटा ज्योति धिपधिप बलिरहेको थियो, पारि क्षितिजमा । ‘आऊ ।’ हाँसेर बोलाउँथ्यो । ‘आऊ ।’ अलि ओरसम्म लिन आउँथ्यो । र, कहिल्यै नथाक्न र सधैँ विजयी हुन हौसला दिन्थ्यो । ऊसँग चहराइरहेका घाउमा लगाउने मलहम थियो । रोगीको रोग निको पार्ने ओखती थियो । र, मूल कुरो त मान्छे मान्छे भएर बाँच्न के चाहिन्छ, त्यो वस्तु थियो । पहिले त्यहाँ पुगेकाहरूले सुखले जीवन बिताएका थिए । उनीहरू पनि ओर डिलमा आएर छिटो छिटो हिँड्न हुटिङ गर्थे । “त्यो बाटो गाह्रो छ, नजाऊ । कठिन यात्रा, प्राण जान सक्छ । जीउ गल्न सक्छ । र भएको जेथा पनि गुम्न सक्छ ।” एकथरी भाँड्न खोज्थे । “हिँड्नुपर्छ, हिँड्नुपर्छ, साहस बोकी हिँड्नुपर्छ । एक स्वर, एक लय र एकै लस्कर भएर अघि बढ्नुपर्छ । थाक्नु मृत्यु हो, ज्यँुदै मर्न नखोजौँ, हिडौँ जीवनयात्रामा कत्ति हार नखाई ।” अघि जानेहरूले हौसला दिन्थे । “चिसो भएर सुनिनुभन्दा आगो भएर बल्नु ठीक, बाँचेर सधैँ मर्नुभन्दा एकैचोटि मर्नु ठीक । हामी मरे पनि अर्को पुस्ता जन्मन्छ र हामी हिँडेको बाटो पहिल्याएर अघि बढ्छ ।” बाटामा यस्तै कुरा हुन्थे । + + + + + यात्राका क्रममा, बाटाका बीचमा, एउटा आकृति थियो, डरलाग्दो आकृति ! काँचै खाउँलाजस्तो गरी बाटो छेकिरहेको थियो । भोका ब्वाँसाहरू उसका वरिपरि नाचिरहेका हुन्थे दाह्रा देखाएर । छुच्चा गिद्धहरू आकाशमा उडिरहेका हुन्थे नङ्ग्रा उजाएर । र, हिंस्रक चितुवाहरू बाटो छेकिरहेका हुन्थे, काँचै खाउँलाजस्तो गरेर । ती दुष्टहरूले कैयौँ निर्दोष यात्रुलाई जिउँदै मारे, टुक्रा पारे र आफ्नो आहारा बनाए । “भागौँ, मर्नुहुन्न ।” एकाथरी डराउँथे । “नडराई अघि बढौँ, पछि नहटाँै ।” अर्काथरी साहस भर्थे । रात गाढा हुँदै गइरहेको थियो । आकृति झन्झन् डरलाग्दो देखियो । “भूत–प्रेत हुन सक्छ ।” एकथरी डराए । “भूत होइन देवता हो ।” अर्काथरीले आदर गरे । “यस्ता भूत–प्रेत खतरा हुन्छन् । तर्साउँछन् र ज्युँदै निल्न सक्छन् । हाम्रा बाबाले भन्नुभएको यस्तासँग निहुँ खोज्नुहुँदैन ।” कोही यसो भन्थे । यसैगरी विभिन्नथरी कुरा छचल्किँदै थिए बाटाभरि । त्यसले धेरै समयसम्म अघि बढ्न दिएन । बाटोमा अवरोध खडा ग¥यो । यात्रुमा भ्रम छ¥यो । तर पनि यात्रा रोकिएन । सबै यात्रु सजग भए । हातेमालो गर्दैगर्दै अगाडि बढ्दै गए । यात्रुको लहर उर्लँदै गयो । “पछि हट्ने होइन, अघि बढ्नुपर्छ ।” सबैका मुखबाट सामूहिक आवाज आयो । लौरा टेक्ने लौरा टेक्दै, भारी बोक्ने भारी बोक्दै, हलो जोत्ने हलो बोक्दै अनि चर्का चर्का नारा बोल्दै, ठूलाठूला राँका पोल्दै र अवरोधका पर्खाल तोड्दै यात्रीहरू अघि बढ्दै रहे । यात्रीहरू कत्ति नडराई नजिकै आएको देखेपछि आकृति अत्तालियो र बाटो छोडिदियो । यात्रीहरू झन् खुसी भए र आफ्नो लक्ष्यलाई पछ्याउँदै अगाडि बढिरहे । पारि क्षितिजमा आशाको दीप उज्यालो छर्दै यात्रुहरूलाई बोलाइरहेको थियो । *** २०६३/०२/०१, काठमाडौं ।

छेपारो

जगते अर्थात् हाम्रो टोलको प्रमुख दादा । मसल देखाएर मान्छेलाई थर्काउनु, मादक पदार्थ खाएर मात्तिनु, अँध्यारोमा कसैलाई एक्लै भेट्यो भने लुटपाट गर्नु यी सबै उसका नानीदेखि लागेका बानी हुन् । ऊजस्तै दुई÷चारजना हुल्याहाहरू उसका पछि लाग्ने हुँदा उसले आफूलाई आफ्नो ग्याङको नायक सम्झन्छ । अनुशासन, नैतिकता, मर्यादा आदि कुरा कहिल्यै अनुसरण गरेन उसले । जब ऊ सडकमा उत्रिन्छ र मात्तिएर चर्को स्वरमा तथानाम बोल्न थाल्छ तब अरू मानिसहरू भित्र पस्न बाध्य हुन्छन्— डर र लाजले । जनआन्दोलन चर्किरहेको थियो । दिनभरि जुलुस हुन्थ्यो । साँझमा कहिले मसाल जुलुस त कहिले ब्ल्याक आउटको कार्यक्रम पर्दथ्यो । सारा जनता मन, वचन र कर्मले आन्दोलनमा होमिएका थिए । एक दिन साँझ ब्ल्याक आउटको कार्यक्रम तय भएको थियो । निर्धारित समयमा ‘बत्ती निभाउन अनुरोध गर्दै’ आन्दोलनकारी समूह सडकमा उत्रियो । प्रायः सबैले बत्ती निभाए । वातावरण पूरै अन्धकारमय बन्यो । आन्दोलनकारीहरू नारा लगाउँदै मूल सडकतिर लागे । “ए साले बत्ती बाल ।” एकै छिनपछि आमा चकारी गाली गर्दै र चारैतिर ढुङ्गा हान्दै अर्को समूह आयो । दोस्रो समूह जगतेकै नेतृत्वमा आएको रहेछ । यिनीहरू चोकमा जम्मा भए र सबैलाई तथानाम गाली गर्दै आन्दोलन विरोधी नारा लगाउन थाले । चोकमा एकछत्र राज जमाएर उफ्रिरहेका थिए, त्यस्तैमा आन्दोलनको पक्षमा नारा लगाउँदै आन्दोलनकारी समूह फर्कियो । आन्दोलनकारीहरू आएको देखेपछि हुल्याहाहरू त्यहाँबाट भागे । त्यो दिन त्यसरी नै बित्यो । अर्को दिन कफ्र्यु तोड्दै दशौँ लाखको जुलुस सडकमा निस्कियो र चर्का नारा लगाउँदै सहर परिक्रमा ग¥यो । जनताको बृहत् सहभागिता देखेर विदेशीहरूसमेत दङ्ग परे । निरङ्कुश शासकहरू अत्तालिए । साँझ पनि ब्ल्याक आउटको कार्यक्रम थियो । ‘आज झडप हुन्छ ।’ धेरैले यही अनुमान गर्दै थिए तर परिस्थितिले कोल्टे फेरेछ । बत्ती निभाउने समय हुँदा नहुँदै हिजोका दादाहरू चोकमा जम्मा भए र उल्टै कार्यक्रमको समर्थन गर्दै बत्ती निभाउन अनुरोध गर्नलागे । साथै उनीहरू हिजो जसको पक्षमा जिन्दावादका नारा लगाएका थिए उसैलाई आज मुर्दावाद भन्दै थिए । अनुमान गर्न गाह्रो परेन, दिनमा निस्केको विशाल जुलुसले उनीहरूको रङ फेरिदिएको थियो । *** २०६३/०१/२३, काठमाडौं ।

एउटा कथा

जनआन्दोलनको सिलसिलामा चोकमा थुप्रै प्रदर्शनकारीहरू जम्मा भएर नारा जुलुस गर्दै थिए । एक हुल सुरक्षाकर्मी आए र निर्घात् कुटेर धेरैलाई भगाए ।

नजिकै नालीमा एउटी सुत्केरी कुकुर्नी बच्चालाई दूध चुसाउँदै सुतिरहेकी थिई । थुप्रै मानिसहरूको आवतजावत देखेर ऊ डरार्ई । बच्चाको मायाले जोडजोडले भुकी ।

नजिकै प्रहरी थिए । कुकुर्नीको भुकाइ उनीहरूलाई मन परेन । उनीहरू रिसाए र ऊमाथि पनि लाठी वर्षाए । एक्लै भए भाग्थी होली, बच्चाको मायाले भागिन । कुट्नेले आफू नथाक्दासम्म कुटे । कुकुर्नी कारुणिक स्वरमा कुइँकँदै जमिनमा लम्पसार परी ।

त्यो दिन त्यस्तै भयो ।

अर्को दिन बिहान मर्निङवाकमा जाँदा देखेँ— कुकुर्नी मरेकी थिई र साना साना छाउरा छाउरीहरू कुइँ कुइँ कुइँकिँदै मृत आमाका दूधका लाम्टा चुसिरहेका थिए ।



@@@
२०६३/०१/०१, काठमाडौं ।

बहुमुखी प्रतिभा

लौहद्वारका रूपमा रहेको एसएलसी परीक्षा उत्तीर्ण गरेर क्याम्पस भर्ना भएका विद्यार्थीहरूमा नयाँ उत्साह र उमङ्ग एकातिर पलाएको थियो भने अर्कोतिर केही विद्यार्थीहरूमा अहङ्कारका कारण केही उच्छृङ्खलपनको विकास भइरहेको थियो । विद्यालयमा जस्तो अनुशासनको चौघेरामा बस्नु नपर्ने हुँदा पनि कतिपय विद्यार्थीहरूमा छाडापनको विकास भएको हुँदोहो शायद । क्याम्पसको अशान्त वातावरणले गर्दा अनुशासित रूपमा बसेर पढ्न चाहने विद्यार्थीहरूलाई निकै असुविधा भइरहेको थियो । विषय शिक्षकहरूले अध्यापन गर्ने क्रममा निकै सम्झाउनुहुन्थ्यो तर त्यसको कुनै असर परेको थिएन । लामो समयसम्म अध्यापन गरेर भुक्तभोगी बनेका क्याम्पसप्रमुखले लामो समयदेखि उक्त अशान्त वातावरणलाई नियालिरहेका थिए तर केही बोलेका थिएनन् । एकदिन, क्याम्पसका सबै विद्यार्थीहरू जम्मा भएको एक विशेष समारोहमा बोल्दै उनले भने— “विद्यार्थी भाइ–बहिनीहरू हाम्रो यस क्याम्पसको नाम नै बहुमुखी क्याम्पस रहेको छ, त्यसैले हाम्रो यस बहुमुखी क्याम्पसबाट उत्पादन हुने विद्यार्थीहरू पनि कोही चिकित्सक, कोही शासक, कोही प्रशासक, कोही इन्जिनियर, कोही वकिल, कोही चोर, डाँका र तस्कर आदि बहुमुुखी प्रतिभा भएका होउन् भन्ने हाम्रो चाहना रहेको छ । डाक्टर, इन्जिनियर, शासक, प्रशासक, वकिल आदि बन्नका लागि खूब मिहिनेत गरेर पढ्नुपर्छ र चोर, डाँका, तस्कर आदि बन्नका लागि आजैदेखि पढाइ छोडेर आवारागर्दी गर्दै हिँड्नुपर्छ । कक्षाकोठा र क्याम्पस परिसरभरि हल्ला दङ्गा गर्नुपर्छ । त्यसका लागि आफूले पनि पढ्नुहुँदैन र सकभर अरूलाई पनि पढ्न दिनुहुँदैन । अर्को कुरा अहिले पनि तपाईँहरूको दिमाग काँचोमाटोसरह छ, जस्तो बनायो त्यस्तै बन्छ । त्यसैले, आजैदेखि कोसिस गर्नोस् र आफू भोलि गएर के बन्ने हो सोही प्रकृतिका व्यवहारलाई जारी राख्नुहोस् । आजको यस समारोहमा म तपाईँहरूलाई यही शुभकामना दिन्छु ।” क्याम्पसप्रमुखको प्रवचन सुनेपछि केही समयका लागि सभाहल स्तब्ध रह्यो । कार्यक्रम सकेर बाहिर निस्किँदा हुल्याहा केटाहरूको अनुहार कालो र निहुरिएको देखिन्थ्यो । अर्कोदिन क्याम्पसको वातावरण अघिल्ला दिनहरूभन्दा केही शान्त र अनुशासित देखिन्थ्यो । *** २०५९/०७/२१, तानसेन ।

Wednesday, July 29, 2009

भोक

उसको खाली पेटमा दुईचार घुट्की रक्सी परेपछि माथि टाउकादेखि नै उसको शरीर झम्झमाउन सुरु ग¥यो । रक्सीको नसासँगै उसको मन पनि तरङ्गिदै गइरहेको थियो र ऊ भावुक हुँदै गइरहेकी थिई । उसको अगाडि रहेको गिलासबाहेक अर्को साथी कोही थिएन । गिलासलाई साथी मानी र मुसार्न लागी । सोचाइका तरङ्गहरू झन् झन् गहिरिदै जान थाले । उसले विगत, वर्तमान र आगतसम्मका कुराहरू सोच्दै गई । उसले आफ्नो जीवनमा फूल भन्दा पनि काँडा धेरै भएको पाई । असैह्य पीडाले उसको मन विह्वल बन्यो । अनि भर्खर मुखबाट भित्र पठाएका रक्सीका थोपाहरू नुनिला आँसु बनेर आँखाबाट बाहिर पोखिन थाले । आँखाका आँसु पुच्न भ्याउँदा नभ्याउँदै नाकबाट सिगान मिश्रित पानी बग्न थाल्यो । पहिले सिँ गरेर फाली अनि पछ्यौराले आँखा र नाक दुवै पुच्न थाली । एउटा भएको छोरो पनि घरमा थिएन, टोलका केटाहरूसँग क्रिकेट खेल्न बाहिर गएको थियो । पढाइभन्दा बढी खेल्न मन पराउने उसको बानीमा खासै सुधार आएको थिएन । छोरो पढेर ठूलो डाक्टर बनोस् भन्ने चाहना बाबुको थियो । त्यसका लागि ऊ आफ्नो सम्पूर्ण जीवन आहुति दिन तयार थियो अर्थात् ऊ छोराका लागि जिन्दगीभरि श्रम गर्न तयार थियो । सुरु सुरुमा त लोग्नेको चाहना उसलाई पनि जाति लागेको थियो तर पछि पछि च्याँख मार्दै गएकी थिई । ‘हर्के लामाका बूढाबूढीले पढेलेखेका छैनन्, सधै ज्याला मजुरी गरेर खान्छन् र पनि कति सुखी छन् । दिनभरि काम गर्छन्, साँझ भेलीको रक्सी खाएर डकार्छन् र अनि साना÷ठूला छोराछोरीहरूको लाजसरम पनि नमानी दुई जीउ एउटै बनाएर सुत्छन् । सुखी नै त छन् ।’ उता कुन्नि कुन हो ठूला डाक्टरकी स्वास्नी आफ्नै डाइवरसँग लठारिएको कुरा पनि उसले सुनेकी थिई । त्यसैले छोरो डाक्टर बनोस् कि कन्डक्टर चासो राख्न छोडेकी थिई । नजर उठाएर हेरी— ऊ बसेको उसको आफ्नो घर सिनेमामा देखिने सुन्दर घर भन्दा कम थिएन । ऊ भान्साको टेबुलमा थिई । अलिपर बैठक कोठा थियो । दामी सोफा, सक्कली कार्पेट, भित्ताभरिको कलर टिभी, आक्रषक दराज, अन्य आबश्यकीय सामानले भरिभराउ । त्यसैगरी आधुनिक सामानले सजिसजाउ भएको भान्सा कोठा । ठाउँ ठाउँमा सुन्दर फूलका गमलाहरू । बाहिर बगैँचा, माथि तलामा बेडरुमहरू । वास्तवमा भन्ने हो भने उसको घर साह्रै सुन्दर थियो र अब सजाउन र बनाउन पर्ने कुनै ठाउँ बाँकी थिएन । तयारी अबस्थामा किनिएको यस घरको मुल गेटबाट भित्र पस्दा उसलाई स्वर्गको द्वारबाट भित्र पसेजत्तिकै अनुभूति भएको थियो । घरभित्र पसेको दिन उसले आफूलाई संसारकै सबैभन्दा भाग्यमानी नारी ठानेकी थिई । बाहिर डेराबाट ल्याएका सामान एकैचोटि भित्र लैजादा सामानमा रहेको फोहर मैलाले सुन्दर घरमा कुनै प्रकारको दाग नलागोस् भन्ने कुरामा ऊ निकै सजग बनेकी थिई । सोचाइका तरङ्गमा रोमलिदारोमलिदै उसको मुखबाट लामो सास बाहिर आयो । लामो सास बाहिर फालेर रित्त रहेको पेटमा अगाडि रहेको गिलास पुरै घोप्टाई । अलिकता सन्तोषको अनुभूति भयो । पुनः लामो सास फेरी । खाली पेटमा रक्सीको आक्रमण तीव्र हुन्छ भन्ने कुरा उसलाई थाहा थियो । तैपनि वास्ता गरिन । केही खाउँ कि भन्ने बारेमा पनि विचार गरी । खाने कुराले फ्रिज टन्न भरिएको थियो । खशी, कुखुरा र बदेलको मासु, माछा, सुकुटी, काजु, हरियो सलाद, नमकिन, फ्रुनदाना, फलफूल......। उसले धेरै कुरा सम्झी तर कसैमा पनि मन गएन । ‘होस्’ उसले मनमनै भनी । गिलास खाली भइसकेको थियो । जुरुक्क उठी, भान्साको स्टोरमा गई र ठूलो सिसीबाट गिलासमा सारी र पुन पहिलेकै स्थानमा आएर बसी । नजिकै आम्खोरामा रहेको पानी गिलासमा हाल्दै मनमनै भनी— ‘साला पिउँदा पिउँदै मर्न पाए पनि हुन्थ्यो नि बरु ।’ यसचोटिको रक्सी दुई तीन घुट्को पिएपछि हरियो सलादप्रति उसको मन जाग्यो । उठी । नजिकै रहेको ढक्कीबाट एउटा काँक्रो झिकी र काटी । दुई पिस काँक्रो पनि खान भ्याएकी थिइन फोनको घण्टी बज्यो । घण्टी सुनेर अनुहार बिगारी । फोनको घण्टी बजेको मन परेको थिएन । उठाइन । धेरैबेर बजिरह्यो । ‘कसको होला ?’ आफैले आफैलाई सोधी । लगातार घण्टी बजेको हुनाले मन परिवर्तन भयो । कडलेस नजिकै टेबुलमाथि नै थियो, जाँगर नलागी नलागी उठाई । लोग्नेको फोन रहेछ । ‘हाय डार्लिङ्ग ।’ उताबाट आवाज आयो । ‘सन्चै छौ ।’ यत्ति मात्रै भनी, थप केही पनि बोलिन । उसका आँखा फेरि रसाए । ऊ सुकसुकाउन थाली । ‘तिमी रोएको ?’ लोग्नेले भन्यो । ‘धत्तेरी लाटी म यस्तो माया गर्ने लोग्ने हुदाहुदै तिमी रुन पर्छ त ?’ उसले थप्यो । ‘यस्तो पनि माया हुन्छ ? काखमा छोडेर गएको छोराले एस.एल.सी. को परीक्षा दिन थाल्यो । गुलाफको फूलजस्तो अनुहार........।’ ऊ हुँ हुँ गर्दै रुन थाली । ‘तिमीलाई पैसा भए पुग्छ । तिमी लोग्ने मान्छेलाई पो केही छैन, जतिवटी च्यापेर सुते पनि हुन्छ । खतवात लाग्दैन । .........पर्दैन अबदेखि फोन गर्न । काटेको घाउमा नुनचुक लगाउने काम मात्रै ।’ ‘हेर हेर रिसाएकी । मैले तिमीलाई त्यसै फोन गरेको हुँ र ! हेर न आज राति सपनामा तिमी र म सँगै थियौँ क्या । कस्ती राम्री तिमी त, पुर्णेको जुन जस्ती । त्यसै भएर फोन गरेको नि । हेर न काममा जान हतार भइसक्यो, तर पनि तिमीसँग कुरा नगरी मनले मानेन र फोन गरेको हुँ ।’ ‘तिमीले त आज मात्रै देखे छौ । मैले त हरेक रात तिमीलाई देख्छु ।’ यसो भन्न मन लागेको थियो तर भनिन । रोई मात्र । आफ्ना मनको पीडालाई आँसुसँगै बगाई । लोग्ने एकोहोरो बोलिरह्यो एकैछिन् । पछि स्वास्नी बोलिन भनेर हो कि काममा जान हतार भएर हो ‘म भरे फोन गर्छु’ भन्दै फोन राखिदियो । फोन राखेपछि पनि ऊ धेरैबेर रोई । आँसु र सिगान पुच्दापुच्दै पछ्यौरा लपक्कै भिज्यो । पहिले रमरम लागेको नसा पनि फोनले उतारीदियो । पछि सिसी नै नजिकै ल्याएर राखी । हिजोका दिनको याद आयो उसलाई । भर्खर विवाह गरेर सहर पसेको बेला, लोग्ने काममा जान्थ्यो । ऊ डेरामा बसेर घर धन्दा गर्थी । साँझ लोग्ने थाकेको शरीरसँगै सानो झोला बोकेर आउथ्यो । झोलामा थोरै चामल, थोरै तरकारी, आबश्यकतानुसार नुन, बेसार र मरमसला हुन्थ्यो । कहिलेकाही भट्टीमा पाइने सस्तो रक्सी पनि लिएर आउथ्यो । लोग्नेले रक्सी खाएको पटक्कै जाति मान्दिनथी उसले । ‘थाकेर लखतरान परेको हुनाले ल्याएको हुँ, नरिसान सानु’ भनेर फकाउथ्यो । लोग्नेले त्यसो भन्दा उसको कलेजो भित्र गडेर रहेको माया उजागर भएर आउथ्यो । थाकेको कुरा सुन्दा उसको मन चह¥याउँथ्यो । लोग्नेको दुःख देखेर मन भावुक हुन्थ्यो अनि आफैले गिलास ल्याएर हालिदिन्थी । पछि पछि त लोग्नेको अनुरोध र बलमा अलिअलि उसले पनि खान थालेकी थिई । खोलेले पेट भर्न परे पनि त्यो बेलाको आनन्द अर्कै थियो । लामा रात पनि छिन्भरिमै कटेजस्तै लाग्थ्यो । रात बितेर बिहान नभए पनि हुँदो हो भनेजस्तै लाग्थ्यो । तर अहिले तिनै रात महिनाजस्तै लामा लाग्छन् । रक्सीको नसामा एकैछिन् झ्याप्प निद्रा लागे पनि आधा रातमा निद्रा खुल्छ । अनि दाँया र वाँया हर फर्कदा फर्कदै दिक्क । पटक्कै निद्रा लाग्दैन । ट्वाइलेट जाने क्रममा झ्यालबाट बाहिर हेरी, सूर्यका पहेला किरण क्षितिजमा पुगिसकेका थिए । सोची— ‘अब रात पर्छ, लोग्नेले अघि नै सपना देखिसक्यो मैले सपना देख्ने पालो अब आउदैछ ।’ उसले हिजो ज्यापूको पुरानो घरको छिडीको कोठामा लोग्नेसँग बसेको जिन्दगी र आज तीन तले महलमा एक्लै बस्नु परेको जिन्दगीसँग तुलना गर्छे । ‘कुन जीवन राम्रो हो ? ऊ कि यो ?’ ऊ पुनः पहिलेकै ठाउँमा आएर बसी र सोचमा डुब्न लागी— ‘किन यस्तो भएको होला ? यसमा कसको दोष छ ? मेरो ? उसको ? वा अरू कसैको ?’ यो बेलामा उसका अगाडि चुनाव, चुनावका बेलामा नेताहरूले गरेका भाषण, नेता, साँसद, मन्त्री यस्तै यस्तै मान्छेका अनुहार र घटना अगाडि आए । उनले गरेका कुराहरू याद आए । उसले धेरैबेर विचार गरी र मनमनै भनी— ‘यी सबै गफ हुन् । सबैका कुरा गफ । कसैले केही गर्दैनन् । देश विकास, शान्तिसुरक्षा, रोजगारी.........। यी सबै गफ । हामीजस्ता जनता झुक्याउने, चुनाव जित्ने र मोज गर्ने प्रपञ्च ।’ उसले लामो सास फेरी । ‘आगो लागेर सबै खरानी हुनुपर्छ, भुइचालो आएर सबै निमिट्यान्नै पार्नुपर्छ । यी सबै पुराना परम्परा, सोचाइ र व्यवहारमा सुधार नआएसम्म केही हुनेवाला छैन ।’ ऊ भावुक बनेर यस्तै कुरा सोच्दै थिई भुँई बजार्दै छोरो भित्र पस्यो । छोराको आगमन देखेपछि उसले आँसु पुछी । ऊ रोएको छोराले जाति मान्दैन, त्यसैले छोराका अगाडि ऊ सकभर रुदिन । आज पनि त्यस्तै गर्न खोजेकी थिई तर भ्याइन छोराले देख्यो । किन रोएको भनेर छोराले सोध्नु पूर्व नै उसैले भनी— ‘तेरा बाउले फोन गरेका थिए ।’ बाउको फोन आएको बेलामा आमा रुन्छिन् भन्ने कुरा छोरालाई थाहा थियो । त्यसैले पनि फोनको कुरा गरेकी थिई । छोराले कुनै जवाफ दिएन । हातमा समातेर ल्याएको क्रिकेटको ब्याट कुनामा फाल्यो र भन्यो— ‘आमा भोक लाग्यो ।’ आमाले मनमनै भनी— ‘बाउको फोन भन्दा उसको भोक ठूलो छ । सबै भोककै पछाडि दगुर्दै छन्— छोरो......, लोग्ने.....र ...र ...म पनि ।’ लामो सास फेर्दै उसले भनी— ‘यो भोक नभएको भए ! लोग्नेले मलाई छोडेर जाने थिएन । अनि घरी घरी भोक नलाग्ने भए म पो सम्झी सम्झी किन रुन्थेँ र ! पापी भोक ! पहिले बिछोड गराउँछ अनि जिन्दगीभरि सताउँछ ।’ त्यसपछि उसले गिलासमा भएको सबै रक्सी रित्ताई । उसलाई थाहा छ रक्सीले झन् भोक जगाउँछ । तैपनि उसले रक्सीलाई माया गर्छे । लोग्नेलाई भन्दा पनि बढी माया । + + + २०६६/०२/१३, काठमाडौं ।