Friday, July 31, 2009

अन्तिम प्रश्न

साहिँला साहू जीवनको अन्तिम सास गन्दै थिए । आज हो कि भोलि कुनै ठेगान थिएन । त्यसैले घरका सबै परिवार र आफन्तहरू आफ्ना सबै काम छाडेर मलिन अनुहार बनाउँदै बिरामीका वरिपरि बसेका थिए । पालैपालो बिरामीलाई सुनपानी खुवाउने काम पनि जारी नै थियो । यसै बीच बिरामीले पिलिक्क आँखा खोले र आँखा घुमाउँदै वरिपरि हेरे । उनको त्यो हेराइ देखेपछि नजिकै बसेको माहिलो छोराले जिज्ञासा राख्यो .........। ”बुढी खोई ?” बिरामीले सासै सासमा भने । “म यहाँ छु ।” आँखाबाट बग्दै गरेका आँसु पुछ्दै बुढीले भनिन् । केही बेरपछि माहिला छोरातिर हेर्दै बुढाले फेरि सोधे– “ठूलो खोई त ?” “बाबा म यहीँ छु ।” नजिकै बसेको जेठा छोराले पनि बाबाका अगाडि आफ्नो उपस्थिति जनायो । “कान्छो नि ?” केही बेरपछि बुढाले सोधे । “म पनि यहीँ छु बाबा ।” आँखा रसिला पार्दै कान्छाले भन्यो । “छोरी र बुहारीहरू पनि आएका छन् ?” “सबै यहीँ छौँ बाबा ।” पछ्यौरीले आँसु पुछ्दै छोरीबुहारीहरूले भने । “हामी छोरा, छोरी, बुहारी, नाति नातिनीहरू सबै यहीँ छौँ बाबा, हजुरले कुनै पिर गर्नुपर्दैन । बरु राम ! राम ! भन्नोस् बाबा, राम ! राम !” माहिला छोराले आश्वस्त पार्दै भन्यो । “ए, तिमीहरू सबैजना यहाँ भएपछि दुकान कसले खोलेको छ त ?” यो बुढाको अन्तिम प्रश्न थियो । *** २०६२/१०/११, काठमाडौं ।

No comments:

Post a Comment